देश

प्रहरी कार्यालयबाट फरार अभियुक्त काठमाडौंमा पक्राउ

 

काठमाडौं । ठगी तथा बैंकिङ कसुरका विभिन्न मुद्दामा संलग्न रहेको आरोप लागेका एक अभियुक्त महोत्तरी प्रहरीको हिरासतबाट फरार भएको केही समयपछि काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुली छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरी र अपराध महाशाखाको संयुक्त टोलीले उनलाई काठमाडौंको बिजुली बजारस्थित धोबीखोला पुलबाट पक्राउ गरेको महोत्तरी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले जानकारी दिए।

प्रहरीका अनुसार पराजुलीविरुद्ध ठगी, विश्वासघात तथा बैंकिङ कसुरसम्बन्धी झण्डै एक दर्जन मुद्दा विभिन्न स्थानमा दर्ता छन्।

महोत्तरीमा दर्ता भएका दुई मुद्दामा जिल्ला अदालतले गत भदौ २२ गते पराजुलीलाई १५–१५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। तर, अन्य मुद्दामा अनुसन्धान तथा कारबाहीका लागि उनलाई काठमाडौंस्थित प्रहरी वृत्त बौद्ध र गौशालामा पठाउने तयारी थियो। सोही क्रममा उनी प्रहरीको सम्पर्कबाट बाहिरिएका थिए।

पराजुली फरार भएपछि महोत्तरी प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको थियो। उनलाई प्रहरीकै मिलेमतोमा भगाइएको हुनसक्ने आरोपसमेत सार्वजनिक भएको थियो। घटनाबारे समाचार सार्वजनिक भएपछि महोत्तरी प्रहरी र अपराध महाशाखाले उनको खोजी तीव्र बनाएको थियो।

पराजुलीविरुद्ध महोत्तरीको एकडारा गाउँपालिका–४ का दरवेश राय यादवले बैंकिङ कसुर, ठगी तथा विश्वासघातसम्बन्धी दुईवटा जाहेरी दिएका छन्। ती मुद्दामा तीन–तीन लाख रुपैयाँ बिगो दाबी गरिएको प्रहरीले जनाएको छ।

मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट योजना पारिदिने भन्दै रकम असुली गरेको आरोपमा पनि पराजुलीविरुद्ध उजुरी परेको थियो। उक्त उजुरीका आधारमा सिरहा प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो।

सिरहाका योगेन्द्रकुमार यादवले ७ लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै पराजुलीविरुद्ध बैंकिङ कसुरको उजुरी दिएका थिए। पक्राउपछि साउन २९ गते पराजुलीले पीडितसँग लेनदेन मिलाएर मिलापत्र गरेका थिए।

त्यसपछि सिरहा प्रहरीले उनलाई रिहा नगरी महोत्तरीमा दर्ता रहेका ठगी तथा बैंकिङ कसुरसम्बन्धी दुई मुद्दामा अनुसन्धानका लागि महोत्तरी प्रहरीको जिम्मा लगाएको थियो।

प्रहरीका अनुसार पराजुलीविरुद्ध काठमाडौंसहित अन्य विभिन्न स्थानमा पनि यस्तै प्रकृतिका मुद्दा दर्ता रहेको खुलेको छ। पक्राउ परेपछि उनलाई सम्बन्धित मुद्दामा थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *