मुख्य समाचार

महाधिवेशनको तयारीमा ढिलाइ, नेकपाले कार्यतालिका संशोधन गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता राष्ट्रिय महाधिवेशनको तयारी पूर्वनिर्धारित कार्यतालिकाअनुसार अघि बढ्न नसकेपछि पार्टीले तालिका संशोधन गर्ने भएको छ । यद्यपि, आगामी मङ्सिरमै महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका बनाउने तयारी गरिएको छ । नेकपाले वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकबाट मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान असार–साउन मसान्तसम्म सम्पन्न गर्ने योजना थियो ।

यस्तै, भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको थियो । तर, निर्धारित समयसीमाभित्र सदस्यता नवीकरणदेखि विभिन्न तहका अधिवेशनसम्मका काम अपेक्षित रूपमा अघि बढ्न सकेका छैनन् ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्राकृतिक विपद्सहितका कारण निर्धारित कार्यतालिका प्रभावित भएको हो । विशेषगरी भोटेकोशी बाढीका कारण केही जिल्लामा संगठनात्मक गतिविधि र अधिवेशनका काममा असर परेको उनले बताए । “महाधिवेशन कार्यतालिकाअनुसार पार्टी सदस्यता नवीकरण पनि हुन सकेको छैन । भोटेकोशी बाढीका कारण केही जिल्लामा अधिवेशन प्रभावित भएको छ,” ज्वालाले भने, “यी सबै विषयलाई ध्यानमा राखेर तिजलगत्तै केन्द्रीय संयोजन समिति बैठक बोलाउँछौँ ।”

उनका अनुसार केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राखिनेछ । प्रभावित भएका तल्ला तहका अधिवेशन र अन्य संगठनात्मक गतिविधिलाई समेटेर नयाँ कार्यतालिका तयार गरिने उनले बताए । महाधिवेशनका लागि आवश्यक अधिवेशन कार्यविधि अझै स्पष्ट नहुँदा तल्ला तहका समितिहरूले काम अघि बढाउन कठिनाइ भएको गुनासो गर्दै आएका छन् । केन्द्रले कार्यतालिका सार्वजनिक गरे पनि त्यसअनुसार अधिवेशन सञ्चालन गर्ने ठोस कार्यविधि नहुँदा अन्योल देखिएको प्रवक्ता ज्वालाले स्वीकार गरे ।

“अब बस्ने बैठकले अधिवेशन कार्यविधि पनि ठोस रूपमा बनाउँछौँ । मङ्सिरमै महाधिवेशन हुने गरी नयाँ कार्यतालिका पनि आउँछ,” उनले भने । फागुनमा भएको निर्वाचनअघि साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत २५ घटकबीचको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । एकतापछि पार्टीको सांगठनिक संरचना व्यवस्थापन र तल्ला तहसम्म संगठन विस्तारका कामलाई महाधिवेशनको तयारीसँग जोडिएको छ ।

निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाबबीच नेकपाले अब बाँकी संगठनात्मक कामलाई कसरी तीव्रता दिन्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *