देश

पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ माघमा हुँदै

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आगामी माघ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो–२०२७’ आयोजना गर्ने भएको छ।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पोको यो पाँचौँ संस्करण हो। तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा जलविद्युत्, सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिलगायत स्वच्छ ऊर्जासम्बन्धी क्षेत्रलाई एकीकृत रूपमा प्रस्तुत गरिनेछ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले एक्स्पोले स्वच्छ ऊर्जा क्षेत्रमा लगानी, प्रविधि, व्यावसायिक साझेदारी तथा ज्ञान आदानप्रदानका लागि अवसर सिर्जना गर्ने बताए।

एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहनेछ।

आयोजकका अनुसार सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञको सहभागिता रहनेछ।

एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, वित्तीय संस्था, बिमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण तथा ज्ञान आदानप्रदानका अवसर सिर्जना गरिनेछ।

अन्तर्राष्ट्रिय कम्पनी तथा विदेशी प्रतिनिधिमण्डलको सहभागिताले नेपाली ऊर्जा बजारमा नयाँ प्रविधि र लगानी भित्र्याउन, नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय संवाद, लगानी र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

यसपटक एक्स्पोमार्फत एकीकृत हरित ऊर्जा बजारको अवधारणालाई अघि बढाइनेछ। ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तनलाई यसको केन्द्रमा राखिएको छ।

एक्स्पोका प्रमुख आकर्षणमा बीटुबी (B2B) बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजनास्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनरलगायत कार्यक्रम रहनेछन्।

इप्पानका अध्यक्ष डाँगीका अनुसार नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रकेन्द्रित ठूलो वार्षिक कार्यक्रमका रूपमा एक्स्पो आयोजना गर्न लागिएको हो। यसले ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृङ्खलालाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखेको छ।

इप्पानका महासचिव टिएन आचार्यले एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रदर्शनीसँगै ज्ञान, प्रविधि, लगानी र व्यावसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो।

हाल नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको छ। सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य रहेको छ। उक्त लक्ष्य घरेलु विद्युत् माग पूरा गर्नमा मात्र सीमित नभई औद्योगिक विकास, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा तथा भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारसँग समेत जोडिएको इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *