हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–११ नौखण्डेमा रड बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ७ः५० बजे त्रिभुवन राजपथ सडकखण्डमा भैरहवाबाट काठमाडौं जाँदै गरेको बा. प्र. ०३–००१ ख ४३५३ नम्बरको १२ चक्के ट्रक घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई सडकको बाँया साइडस्थित खोल्सामा करिब १०० मिटर तल खसेको हो ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो ।
दुर्घटनामा ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ३२ वर्षीय राकेश तामाङ घाइते भएका छन् । उनको दुवै खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते तामाङको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बिहान ८ः३५ बजे काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेका थिएनन् ।दुर्घटनामा ट्रकमा भने क्षति पुगेको प्रहरीले जनाएको छ ।




