हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ जना सवारी चालकलाई कारबाही गरी १ करोड ७२ लाख ५४ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख रमेश विष्टका अनुसार साउनदेखि पुससम्म ७ हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ जना चालक कारबाहीमा परेका थिए । पछिल्लो छ महिनामा कारबाहीमा पर्ने चालकको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिएको छ ।
तर ट्राफिक नियम उल्लङ्घनमा कारबाही बढे पनि मकवानपुरमा सवारी दुर्घटनामा अपेक्षित कमी आउन नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा जिल्लामा ४१४ वटा सवारी दुर्घटना भएका थिए ।
ती दुर्घटनामा ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका थिए । पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ वटा दुर्घटना भएका थिए ।
कार्यालयका अनुसार पहिलो छ महिनामा ३५ जनाको मृत्यु भएको थियो भने पछिल्लो छ महिनामा २९ जनाले ज्यान गुमाएका थिए ।
प्रमुख विष्टले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने बताए । चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियम पालना गर्ने चेतना र जिम्मेवारी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
“कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुप¥यो । दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो,” विष्टले भने ।
गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ । यस्तै, लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।




