देश

धार्मिक पर्यटनको गन्तव्य बन्दै चुरियामाई

बागमती। विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा र आसपासका क्षेत्रबाट नयाँ सवारीसाधन खरिद गर्नेहरूले सामान्यतः नछुटाउने धार्मिकस्थल हो– चुरियामाई । विश्वकर्मा पूजाको अवसरमा आज बिहानैदेखि विभिन्न स्थानबाट सवारीसाधन पूजा गर्न तथा दर्शनका लागि चुरियामाईमा भक्तजनको घुइँचो लागेको छ ।

मकवानपुरको पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगन्ज जाने सडकको छेउमा चुरे पर्वत शृङ्खलाको फेदीमा चुरियामाई मन्दिर अवस्थित छ । मन्दिरलाई विशेषगरी ‘यातायातकी देवी’का रूपमा पूजा गर्ने गरिएको मन्दिरका पुजारी दिलीप नगरकोटीले बताए ।

नयाँ सवारीसाधन खरिद गरेपछि चुरियामाईमा आएर दर्शन तथा पूजा गरेमा शुभ हुने जनविश्वास छ । यही विश्वासका कारण हेटौँडा तथा आसपासका क्षेत्रबाट सवारीसाधन ल्याएर पूजा गर्ने परम्परा अझै कायम रहेको यातायात व्यवसायी कैलाश थापाले बताए ।

चुरे पर्वत शृङ्खलामा अवस्थित भएकाले मन्दिरको नाम चुरियामाई राखिएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फ वीरगन्ज जाने पूर्व–पश्चिम राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको मन्दिरमा दैनिकजसो भक्तजन पुग्ने गरेका छन् ।

स्थानीय बूढापाकाका अनुसार पहिले चुरियामाईको मूर्ति चुरे पर्वतको टुप्पोमा रहेको थियो । राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा भक्तजनलाई पूजाआजा गर्न सहज होस् भनेर मूर्तिलाई हालको स्थानमा ल्याएर स्थापना गरिएको जनविश्वास छ । राणाकालीन इतिहाससँग जोडिएको यो मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रूपमा समेत विकास हुँदै गएको स्थानीय बताउँछन् ।

मन्दिरमा कालो प्रस्तरबाट निर्मित आकर्षक तथा कलात्मक चुरियामाईको मूर्ति रहेको छ । परिसरमा गणेशलगायत विभिन्न देवीदेवताका मूर्ति पनि छन् । दर्शनार्थीको आवागमन व्यवस्थित गर्न फलामे बार तथा राजमार्गको चोकबाट मन्दिरसम्म पुग्ने करिब १० मिनेटको सिँढी बाटो व्यवस्थित गरिएको छ ।

मन्दिरसम्म पुग्दा देखिने चुरे क्षेत्रको प्राकृतिक सौन्दर्यले दर्शनार्थीलाई आकर्षित गर्ने गरेको छ । मन्दिर परिसरमा रहेको ऐतिहासिक सुरुङमार्ग यहाँको अर्को प्रमुख आकर्षण हो ।

विसं १८७२ मा निर्माण सुरु भई १८७४ मा सम्पन्न भएको चुरियामाई सुरुङ तत्कालीन हेटौँडा–अमलेखगन्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर निर्माण गरिएको सुरुङको नेतृत्व सिभिल इन्जिनियर स्व. डिल्लीजङ्ग थापाले गरेका थिए । उनको सम्मानमा मन्दिर परिसरमा सालिकसमेत निर्माण गरिएको छ ।

चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिका सदस्य रामकुमार पुलामीका अनुसार मन्दिरमा आउने दर्शनार्थीले सुरुङमार्गबारे चासो राख्दै अवलोकन गर्ने गरेका छन् ।

यसअघि हेटौँडा उपमहानगरपालिकाले संरक्षण तथा सञ्चालन गर्दै आएको सुरुङमार्गको संरक्षण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हाल चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

सम्झौताअनुसार समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन र आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी सम्हाल्दै आएको पुलामीले जानकारी दिए ।

सुरुङ अवलोकन गर्न आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क लिन सकिने व्यवस्था छ । सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ । लामो समय प्रयोगविहीन रहेको सुरुङलाई बागमती प्रदेश सरकारले स्तरोन्नति तथा संरक्षण गरी हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

‘हेटौँडा उपमहानगरपालिका चुरियामाई सुरुङ सञ्चालन कार्यविधि, २०८१’ अनुसार करिब ५०० मिटर लामो सुरुङ अवलोकनका लागि विभिन्न शुल्क निर्धारण गरिएको छ । पाँच वर्षसम्मका बालबालिकाका लागि निःशुल्क व्यवस्था गरिएको छ भने नेपाली नागरिकका लागि रु ५०, विद्यार्थीका लागि रु १० र विदेशी पर्यटकका लागि रु १०० शुल्क तोकिएको छ । चलचित्र, वृत्तचित्र तथा म्युजिक भिडियो निर्माणका लागि रु एक हजार शुल्क निर्धारण गरिएको समितिले जनाएको छ ।

धार्मिक आस्था, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा समेटेकाले चुरियामाईलाई मकवानपुरको धार्मिक तथा ऐतिहासिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *