काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् व्यवस्थापनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। लामिछानेको आह्वानमा बुधबार बिहान ११ बजे रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने भएको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत विषयमा दलहरूबीच छलफल हुनेछ। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेका बेला लामिछानेले सर्वदलीय छलफल अघि बढाउन लागेका हुन्।
बैठकमा विपद्को प्रभाव न्यूनीकरण, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने उपायका साथै राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ। रास्वपाले सर्वदलीय छलफलमार्फत विपद् व्यवस्थापनका लागि साझा धारणा निर्माण गर्ने र राज्यका संयन्त्रलाई थप प्रभावकारी बनाउन राजनीतिक तहबाट आवश्यक पहल गर्ने तयारी गरेको जनाएको छ।




