अर्थ

चितवनमा सयपत्री फूलखेती दोब्बर बढ्यो, ४४ हेक्टरमा खेती

चितवन । चितवनमा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टरमा गरिएको सयपत्री खेती यस वर्ष बढेर ४४ हेक्टर पुगेको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हरेक वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल विस्तार हुँदै गएको कृषि विकास कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानले जानकारी दिइन् ।

उनका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस–१, थाई टिनिस, टिनिस–२, सुमति र कर्मा ५५५ जातका बिरुवा रोपिएका छन् ।

गत वर्ष जिल्लामा गरिएको सयपत्री फूलखेतीबाट १३१ दशमलव ४ मेट्रिक टन फूल उत्पादन भएको थियो । जिल्लाका सातवटै स्थानीय तहमा व्यावसायिक रूपमा चाडपर्व लक्षित फूलखेती हुँदै आएको छ । तीमध्ये सबैभन्दा बढी सयपत्री खेती भरतपुर महानगरपालिकामा हुने गरेको चौहानले बताइन् ।

थोरै क्षेत्रफलमा समेत राम्रो उत्पादन लिन सकिने भएकाले किसान चाडपर्व लक्षित सयपत्री फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ । पछिल्लो समय सरकारले नेपालमै उत्पादित वस्तुको प्रयोग तथा आयातमा कडाइ गर्न थालेपछि स्वदेशी फूलखेतीप्रति किसानको आकर्षण थप बढेको उनले बताइन् ।

चितवनमा हरेक वर्ष भारतबाट समेत फूल आयात हुँदै आएको छ । गत वर्ष सयपत्री फूलले पाएको राम्रो मूल्य र बजारमा देखिएको अभावका कारण यस वर्ष किसानले खेतीको क्षेत्रफल बढाएको चौहानको भनाइ छ ।

“गत वर्ष सयपत्रीले पाएको मूल्य र बजारमा देखिएको अभावलाई हेरेर अहिले किसानको आकर्षण बढेको हो,” उनले भनिन्, “नेपालमा उत्पादित सयपत्री फूलको माग पनि बढ्दै गएको छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *