काठमाडौं । बजारमा चर्किएको खाना पकाउने एलपी ग्यासको अभाव अन्त्य गर्न सरकारले आपूर्ति बढाउने तयारी थालेको छ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आगामी केही दिन दैनिक १६० बुलेट ग्यास नेपाल भित्र्याउने व्यवस्था मिलाइएको दाबी गरेका छन्। मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री साहले ग्यासका लागि डिपोमा खाली सिलिन्डर बोकेर लामो समयसम्म लाइनमा बस्नुपर्ने उपभोक्ताको बाध्यता अब धेरै दिन नरहने बताएका हुन्।
उनका अनुसार भारतबाट आगामी दुई–तीन दिन लगातार दैनिक १६० बुलेटका दरले ग्यास ल्याउने तयारी गरिएको छ। पर्याप्त परिमाणमा ग्यास बजारमा उपलब्ध भएपछि हाल देखिएको अभाव हट्ने उनको दाबी छ। ‘आगामी केही दिनसम्म लगातार १६० बुलेटका दरले ग्यास ल्याउने सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ,’ मन्त्री साहले भने, ‘यो परिमाणको ग्यास बजारमा पुगेपछि उपभोक्ताको माग सहजै पूरा हुने विश्वास गरेका छौँ।’
ग्यासको आपूर्ति सहज बनाउन सरकारले आयात र ढुवानी व्यवस्थापनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ। तर, बजारमा अभाव देखिएको लामो समयपछि नयाँ मन्त्रीले गरेको यो दाबी व्यवहारमा कहिलेबाट कार्यान्वयन हुन्छ भन्ने विषय भने महत्वपूर्ण बनेको छ। यसअघि ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आलोचना खेपेकी थिइन्। ग्यास अभावकै विषयलाई लिएर सरकारमाथि चौतर्फी दबाब बढेपछि उनको बहिर्गमन भएको थियो।
यादवपछि मन्त्रालयको जिम्मेवारी सम्हालेका साहका लागि पनि ग्यास आपूर्ति तत्काल सहज बनाउनु प्रमुख चुनौती बनेको छ। उपभोक्ताले लामो समयदेखि भोग्दै आएको अभाव अन्त्य गर्न सके मात्र नयाँ मन्त्रीको प्रतिबद्धता व्यवहारमा देखिनेछ। हाल काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रभावित हुनुको प्रमुख कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरो र त्यसबाट भएको सडक अवरोधलाई मानिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि तराई क्षेत्रमा रहेका रिफिलिङ केन्द्रबाट ट्रकमार्फत सिलिन्डर काठमाडौं ल्याउने वैकल्पिक व्यवस्था गरिएको छ। तर, नियमित आपूर्तिको तुलनामा यस्तो ढुवानी पर्याप्त नभएको ग्यास उद्योगीहरूको गुनासो छ।
राजमार्गमा सहज रूपमा ग्यासका बुलेट तथा सिलिन्डर ढुवानी हुन नसक्दा काठमाडौं उपत्यकामा मागअनुसार आपूर्ति गर्न कठिनाइ भइरहेको व्यवसायीहरूले बताउँदै आएका छन्। मन्त्री साहले भने ग्यासको समस्यासँगै बजारमा देखिएको चिनीको अभाव र मूल्यवृद्धिलाई समेत प्राथमिकतामा राखेर समाधानका लागि पहल भइरहेको बताएका छन्। उनले चिनी आपूर्ति तथा मूल्यसम्बन्धी समस्या पनि केही दिनभित्रै व्यवस्थापन हुने दाबी गरेका छन्।
अब मन्त्री साहको पहिलो परीक्षा नै बजारमा ग्यासको वास्तविक आपूर्ति बढाएर उपभोक्तालाई सहज रूपमा सिलिन्डर उपलब्ध गराउनु बनेको छ। दैनिक १६० बुलेट भित्र्याउने सरकारी योजना कार्यान्वयनमा आएमा मात्रै लामो लाइन र ग्यासको खोजीमा भौँतारिनुपर्ने उपभोक्ताको समस्या तत्काल कम हुने अपेक्षा गरिएको छ।




