देश

देउवा पक्षका पुराना पदाधिकारीलाई समेट्दै कांग्रेस, नयाँ केन्द्रीय समिति बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसले निर्वमान सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सदस्यहरूलाई विशेष महाधिवेशनपछि गठन हुने नयाँ केन्द्रीय समितिमा समेट्ने बाटो खुला गरेको छ। आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले अघिल्लो कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ समितिमा नरहेका नेताहरूलाई पनि केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेको हो।

बैठकपछि एक पदाधिकारीका अनुसार अघिल्लो कार्यसमितिका सबै सदस्यलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरूलाई केन्द्रीय समितिमै राखेर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा अघि बढाउने तयारी कांग्रेसको छ। अघिल्लो समितिमा रहेकाहरू सबैलाई केन्द्रीय समितिमा बस्नेगरी आह्वान हुन्छ,’ बैठकपछि एक पदाधिकारीले बताए। उनका अनुसार महाधिवेशनमा सहभागी हुनसमेत उनीहरूलाई अपिल गरिनेछ। केन्द्रीय समितिमा बस्न इच्छुक नेताहरू सहभागी हुने र इच्छुक नरहेकाहरू सहभागी नहुने विकल्प खुला राखिएको छ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। त्यसअघि वडा तहको अधिवेशन असोज ३ र ४ गते गर्ने कार्यतालिका तय गरिएको छ। महाधिवेशनको तयारीसँगै कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विषयमा पनि निर्णय गरेको छ। संस्थापन पक्षले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णय गरेको जनाइएको छ।

अघिल्लो कार्यसमितिमा रहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा समेट्ने निर्णयलाई कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा समेत हेरिएको छ। विशेष महाधिवेशनपछि बाहिर रहेका पुराना नेताहरूलाई पुनः समेट्दै पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाउने रणनीति कांग्रेसले लिएको देखिन्छ।

अब असोजमा हुने वडा अधिवेशनबाट सुरु हुने संगठनात्मक प्रक्रियासँगै कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनको बाटो खुल्नेछ। त्यसअघि पुरानो कार्यसमितिका सदस्यहरूको व्यवस्थापन र क्रियाशील सदस्यताको टुंगो लगाउने निर्णयलाई महाधिवेशन तयारीको महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *