बनेपा, काभ्रे । नेवार समुदायले मौलिक सांस्कृतिक पर्वका रूपमा मनाउने चथा पर्व आज विभिन्न धार्मिक विधि पूरा गर्दै मनाइँदैछ। पर्वका अवसरमा भगवान् गणेशको विशेष पूजा–आराधना गरी घरमा उपलब्ध नयाँ कृषि उपज तथा फलफूल चढाउने परम्परा छ।
चथा पर्वका लागि घर–आँगन, कौशी तथा पूजा गर्ने स्थान सफा गरी परिवारका सदस्य एकै ठाउँमा बसेर विधिपूर्वक पूजा गर्ने चलन रहेको छ। पूजामा गणेशलाई विभिन्न फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाइन्छ।
पूजा सामग्रीका रूपमा अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीउ, फर्सीको बीउलगायत सामग्री प्रयोग गर्ने परम्परा छ। घरमा उपलब्ध कृषि उपज तथा फलफूललाई नै पूजामा समावेश गरिने भएकाले यस पर्वले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई समेत प्रतिबिम्बित गर्ने विश्वास गरिन्छ।
इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जङ्गमका अनुसार वर्षभरि प्राप्त नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहिआएको छ।
चथा पर्वसँग चन्द्रमासम्बन्धी धार्मिक विश्वाससमेत जोडिएको छ। यस दिन चन्द्रमा हेर्न नहुने जनविश्वास छ। चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने परम्परागत मान्यताका कारण पूजा गर्ने क्रममा समेत आकाशतर्फ नहेर्ने चलन रहेको छ।




