काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका आश्रित परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ।
बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारसमेत बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई खोजी कार्य, आफ्नो कुल–धर्मअनुसार सामाजिक संस्कार तथा जीवनयापनका लागि राहत उपलब्ध गराउने निर्णय गरेको हो।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार राहतको पहिलो प्याकेजअन्तर्गत तत्कालका लागि बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई प्रतिकर्मचारी वा कामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
त्यस्तै, दोस्रो प्याकेजअन्तर्गत स्थायी कर्मचारीका नजिकका हकवालालाई प्राधिकरणबाट थप क्षतिपूर्ति वा अन्य रकम उपलब्ध गराउने सम्बन्धमा निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्म निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरिएको छ।
निर्णयअनुसार भदौ महिनादेखि बेपत्ता भएका स्थायी कर्मचारीका नजिकका हकवालालाई सम्बन्धित कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम मासिक रूपमा निर्वाह खर्चबापत उपलब्ध गराइनेछ।




