काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेशलाई आवश्यक सुधारका लागि ल्याइएको बताएका छन् ।
संसदीय दलको बैठकमा बोल्दै उनले विगतमा भएका अनावश्यक दलीयकरण र गलत नियुक्ति नसच्याएसम्म जनताले वर्तमान सरकारबाट अपेक्षित परिणाम पाउन नसक्ने बताएका हुन् ।
उनले पहिले अध्यादेशहरू दल फुटाउन वा विपक्षीलाई नियन्त्रणमा राख्ने उद्देश्यले ल्याइने गरेको उल्लेख गर्दै अहिलेको अभ्यास कसैलाई दुःख दिन वा सुविधा दिन नभई सुधारका लागि भएको स्पष्ट पारे ।
प्रवक्ता मनिष झाले जनाएअनुसार लामिछानेले यो कदम कानुनी दायराभित्र रहेर गरिएको अभ्यास भएको बताए ।
लामिछानेले रास्वपा कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति गम्भीर रहेको उल्लेख गरेका थिए । उनले संसदीय समिति प्रमुख प्रतिपक्षलाई बिना माग जिम्मेवारी दिएको उदाहरणले पनि पार्टीको लोकतान्त्रिक प्रतिबद्धता देखिएको बताए ।
उनले विगतमा प्रधानमन्त्रीकै पार्टीका सांसद लेखा समिति सभापति बनेका उदाहरणहरू रहेको स्मरण गराउँदै रास्वपाले त्यस्ता अभ्यास सच्याउन इमानदारीपूर्वक काम गरिरहेको बताए ।




