काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणलाई सरकारले कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्न खोजेको छ। तर मूल प्रश्न अझै उस्तै छ—यो भ्रमणले नेपाल–भारतबीच वर्षौँदेखि थाँती रहेकासीमा, व्यापार, राजनीतिक असमानता र विश्वास संकटका मुद्दा समाधानतर्फ लैजाला, कि केवल औपचारिक भेटवार्ताको अर्को अध्याय बन्नेछ ?
भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आएर प्रधानमन्त्री बालेनलाई औपचारिक निम्तो दिने तयारीमा छन्। त्यसपछि परराष्ट्रमन्त्रीस्तरीय संवाद र अन्ततः प्रधानमन्त्रीको भारत भ्रमण हुने संकेत छ। प्रक्रियागत रूपमा यो सामान्य कूटनीतिक अभ्यास हो। तर परिणामको हिसाबले यो भ्रमण असामान्य अपेक्षाको बोझ बोकेर आउँदैछ।
बालेन शाह काठमाडौं महानगर प्रमुख हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ नक्सा राखेर चर्चामा आएका थिए। भारतले संसद् भवनमा नेपालले दाबी गरेको भूभाग समेटिएको नक्सा प्रदर्शन गरेपछि उनले प्रतीकात्मक प्रतिवाद गरेका थिए। त्यतिबेला सामाजिक सञ्जालमा राष्ट्रवादी छवि निर्माण गर्न सजिलो थियो। तर अब परिस्थिति बदलिएको छ। उनी मेयर होइनन्, प्रधानमन्त्री हुन्। अब प्रश्न फेसबुक पोस्टको होइन, औपचारिक वार्ता टेबलमा ह्ुनेछ । तर नेपालका युवा प्रधानमन्त्री बालेनले सो विषयलाई कसरी भारत सरकारसँग प्रस्तुत गर्लान् ? सो विषय सार्वजनिक बहस र चासोको प्रमूख विषय बन्दै गएको छ ।
जसले विगतमा चर्को राष्ट्रवाद देखाए, उनी अहिले भारतसँग कसरी बोल्छन् ? सीमा विवाद उठाउँछन् कि मौन बस्छन् ? यहीँबाट उनको राजनीतिक विश्वसनीयता परीक्षण हुनेछ। नेपाल–भारत सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा लिपुलेक, कालापानी र लिम्पियाधुरा हो। नेपालले नयाँ नक्सामार्फत ती भूभागलाई आफ्नो दाबीमा समेटिसकेको छ। संसद्ले सर्वसम्मत रूपमा अनुमोदन पनि गरिसकेको छ।
तर यथार्थ के हो ? अर्को विषय भनेको,दार्चुलामा तुइन विस्थापन गरी पुल निर्माणका लागि नेपालले विभिन्न कालखण्डमा पठाएको पत्र । विगतको तत्कालीन सरकारले सो क्षेत्रमा पुल निर्माणका लागि भारतलाईै पत्र पठाएको थियो तर त्यसको जवाफ भारतले दिन सकेको छैन्, । सो क्षेत्रमा तुइन विस्थापन गरी पुल निर्माण नहुदा नागरिकलाई मार परेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले सो क्षेत्र आसपासमा पुलको सिलान्यास गरिसकेका छन् । सिमा विवादमा सहमति जुटाउनु प्रधानमन्त्री बालेनका लागि चुनौती कि सहजता होला ?
नक्सा जारी भयो, राष्ट्रिय उत्साह बढ्यो, तर जमीनमा केही बदलिएको छैन। भारतले नक्सा अस्वीकार गर्यो। चीन मौन रह्यो। सीमाक्षेत्रमा भारतको प्रशासनिक उपस्थिति कायम रह्यो। अब भारत भ्रमणमा बालेनले यो विषय उठाएनन् भने उनको पुरानो राष्ट्रवादी भाषण कमजोर देखिनेछ। उठाए भने परिणाम ल्याउनुपर्ने दबाब हुनेछ। नेपाल र भारतबीच सम्बन्ध केवल दुई छिमेकी देशको होइन, शक्ति असन्तुलनमा आधारित सम्बन्ध पनि हो। व्यापार, पेट्रोलियम, पारवहन, रोजगारी, खुला सीमा, जलस्रोत, सुरक्षा—प्रायः सबै क्षेत्रमा नेपाल भारतसँग गहिरो रूपमा जोडिएको छ।
यही कारण नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा बराबरीको कूटनीति होइन, व्यवस्थापनको कूटनीति लिएर जाने गरेको आलोचना हुने गर्छ।
बालेनले यदि फरक शैली देखाउन चाहन्छन् भने व्यक्तिगत लोकप्रियता होइन, संस्थागत तयारी, स्पष्ट राष्ट्रिय एजेन्डा र निरन्तर वार्ता संयन्त्र आवश्यक हुन्छ।
भ्रमणको सम्भावित एजेन्डा ः अर्थतन्त्र अघि, सीमा पछि ?व्यावहारिक रूपमा हेर्दा यो भ्रमणमा सीमा विवादभन्दा ऊर्जा व्यापार, लगानी, पूर्वाधार, व्यापार असन्तुलन, विद्युत् निर्यात, कनेक्टिभिटी र पर्यटनजस्ता विषय प्राथमिकतामा पर्न सक्छन्। किनकि यिनै विषयमा तुरुन्तै ‘उपलब्धि’ देखाउन सकिन्छ। सीमा विवाद भने दीर्घकालीन, जटिल र राजनीतिक संवेदनशील मुद्दा हो, जसमा फोटो सेसनले समाधान दिँदैन। त्यसैले भ्रमणपछि संयुक्त वक्तव्यमा मित्रता, सहकार्य, प्रगाढ सम्बन्ध, विकास साझेदारी जस्ता शब्दहरू धेरै सुनिए पनि लिपुलेकबारे मौनता देखिन सक्छ।
बालेन नयाँ शक्तिको प्रतिनिधि नेता मानिन्छन्। त्यसैले भारत भ्रमण उनको विदेश नीति मात्र होइन, घरेलु छवि व्यवस्थापनको मुद्दा पनि हो। यदि अत्यधिक झुकेजस्तो देखिए समर्थक निराश हुन सक्छन्। यदि अनावश्यक टकराव गरे आर्थिक र कूटनीतिक असर पर्न सक्छ। त्यसैले उनी ‘राष्ट्रवाद र यथार्थवाद’ बीचको साँघुरो डोरीमा हिँडिरहेका छन्।
बालेनको भारत भ्रमण महत्त्वपूर्ण हुन सक्छ, यदि यसले संवादको नयाँ ढोका खोल्यो भने , विश्वास पुनर्निर्माण गर्यो, र संवेदनशील मुद्दामा औपचारिक वार्ता संयन्त्र सक्रिय बनायो भने। तर एक भ्रमणमै सीमा विवाद समाधान, असमान सम्बन्ध अन्त्य, वा ऐतिहासिक मतभेद समाप्त हुने अपेक्षा अवास्तविक हो। साँचो प्रश्न भ्रमण हुन्छ कि हुँदैन भन्ने होइन—नेपाल स्पष्ट तयारीसहित जान्छ कि केवल निम्तोको शिष्टाचार पूरा गर्न जान्छ ?
यदि दोस्रो विकल्प हो भने, यो भ्रमण समाचार बन्नेछ। यदि पहिलो हो भने, इतिहास पनि बन्न सक्छ।




