काठमाडौँ । नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति सन्तुलनको बहस चलिरहेका बेला नेता डा. शेखर कोइरालाले आफ्नो पक्षको छुट्टै भेला बोलाएका छन्। उनले वैशाख १७ गते बागमती प्रदेशस्तरीय नेताहरूको बैठक आह्वान गर्दै संगठनभित्र आफ्नो धारालाई थप सक्रिय बनाउने संकेत दिएका हुन्।
कोइराला पक्षका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारका अनुसार भेलामा बागमती प्रदेशभित्र रहेका समूह निकट नेताहरू सहभागी हुनेछन्। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको भावी रणनीतिबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको बताइएको छ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएको जानकारीअनुसार कार्यक्रममा बहालवाला तथा निवर्तमान केन्द्रीय सदस्य, पदाधिकारी, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, सांसद, पूर्वसांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।
कांग्रेसभित्र एकपछि अर्को समूहगत भेला भइरहेका बेला कोइरालाको यो कदमलाई आन्तरिक प्रतिस्पर्धा र आगामी नेतृत्व समीकरणसँग जोडेर हेरिएको छ। पार्टी एकताको सन्देश दिइरहेका नेताहरू व्यवहारमा भने अलग–अलग शक्ति प्रदर्शनमा केन्द्रित देखिन थालेका छन्।




