देश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केके गर्‍यो निर्णय ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतन्त्र, संसद सञ्चालन, सुकुम्बासी समस्या र विद्यार्थी राजनीति लगायत समसामयिक विषयमा विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले लोकतन्त्र दिवसको अवसरमा लोकतान्त्रिक मूल्य, सहिष्णुता र उत्तरदायित्वप्रति प्रतिबद्ध रहन आह्वान गरेको छ ।

बैठकले संसद् अधिवेशन बैठक नबस्दै स्थगन गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै अविलम्ब संसद् सञ्चालन गर्न र स्थगनको कारण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले यसलाई संवैधानिक नैतिकता र संसदीय परम्पराविपरीत कदम भएको जनाएको छ ।

संसदीय दलको विधान संशोधन गर्दै दलको नेता चयन प्रक्रियामा समन्वय गर्न विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

बैठकले  विद्यार्थी राजनीतिका विषयमा कांग्रेसले संस्था खारेजभन्दा सुधार र रूपान्तरणमा जोड दिएको छ । विद्यार्थी संगठनहरूको वैधानिक अस्तित्व स्वीकार गर्दै आचारसंहिता, पारदर्शिता र अनुशासनमा सुधार आवश्यक रहेको बताइएको छ ।

सुकुम्बासी समस्याको समाधानमा कांग्रेसले बल प्रयोगभन्दा पहिचान, वैकल्पिक व्यवस्था र कानुनी प्रक्रियामा आधारित दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

यसैगरी, सिन्धुली हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ भने इरानमा हिरासतमा रहेका नेपाली अमृत झाको अवस्थाबारे यथार्थ जानकारी सार्वजनिक गरी शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न पनि सरकारसँग माग गरिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *