काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले पछिल्लो समय केही सञ्चारमाध्यममा प्रकाशित पेट्रोलियम पदार्थको खरिद–बिक्री तथा मौज्दात सम्बन्धी समाचारप्रति आपत्ति जनाएको छ।
एशोसिएशनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उतार–चढाव भइरहेकाले त्यसको असर नेपालमा पनि पर्ने उल्लेख गर्दै मूल्य निर्धारण प्रक्रिया पारदर्शी रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा नेपाल आयल निगम लिमिटेडले मागअनुसार करिब २० देखि २५ प्रतिशतसम्म आपूर्तिमा कटौती गर्दै वितरण गरिरहेको सन्दर्भ उल्लेख गर्दै पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य, कच्चा पदार्थ लागत तथा डलर विनिमय दरका आधारमा निर्धारण हुने प्रष्ट गरिएको छ।
एशोसिएशनले व्यवसायीहरूले बजार जोखिम व्यवस्थापनका लागि आवश्यक अध्ययन र विश्लेषणका आधारमा कारोबार गर्ने अभ्यास सामान्य रहेको बताउँदै मूल्य उतारचढावको अनुमानका आधारमा आपूर्ति रोक्ने वा कटौती गर्ने कार्य गैरकानुनी हुने जनाएको छ।
त्यसैगरी, अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नु विक्रेताको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै सार्वजनिक बिदा तथा मागअनुसारको खपतलाई ध्यानमा राखी आपूर्ति व्यवस्थापन भइरहेको पनि स्पष्ट गरिएको छ।
एशोसिएशनले केही सञ्चारमाध्यममा आएको भ्रामक समाचारप्रति दुःख र खेद व्यक्त गर्दै आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी कारोबार यथावत सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।





