काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद रञ्जित कर्णले आफूविरुद्ध प्रकाशित भ्रामक सामग्रीबारे नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
सामाजिक सञ्जालमा आफूले नबोलेका अभिव्यक्तिलाई तोडमोड गरी प्रस्तुत गरिएको भन्दै कर्णले कानुनी उपचार खोजेका हुन् ।
उजुरीपछि उनले कांग्रेस प्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भए पनि गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु स्वतन्त्रताको दुरुपयोग भएको बताएका छन् ।
प्रधानमन्त्रीसँग सोधिएको प्रश्नलाई समेत विकृत रूपमा प्रस्तुत गरी भ्रम फैलाइएको दाबी गर्दै कर्णले ‘बालुवाटार जलाउने धम्की’ दिएको आरोप असत्य रहेको स्पष्ट पारे । त्यस्तो कुनै प्रमाण भए आफू कानुनी कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।




