देश

असोजमा महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने दाहालको घोषणा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी असोज महिनामा पार्टीको महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने योजना रहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएका गलत प्रवृत्तिहरूलाई “फोहोरमैलासरह सफा” गरेर अघि बढ्ने उद्घोष गरे ।

दाहालले जनताको घृणाभन्दा पनि जनताले सिकाएको “सबक” आत्मसात गर्नुपर्ने भन्दै पछिल्ला निर्वाचन परिणामलाई आत्ममन्थनको अवसरका रूपमा लिनुपर्ने बताए ।

उनका अनुसार आगामी असोजभित्र महाधिवेशन सम्पन्न गरी तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्व स्थापित गर्ने योजना छ । पुराना पुस्ताले नयाँ भूमिका खोज्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बहस पार्टीभित्र चलिरहेको उनले जानकारी दिए ।

उनले सच्चिने सङ्कल्प गर्नेहरू मात्र पार्टीमा रहने र “रडाको गर्नेहरू बाहिरिए पनि फरक नपर्ने” कठोर नीति अब अवलम्बन गरिने संकेत गरे ।

दाहालले कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आफ्नो मुख्य प्राथमिकता भएको उल्लेख गर्दै छरिएका वाम घटकहरूलाई एकीकृत गर्ने पहल पनि अघि बढाइएको बताए ।

उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको रक्षाका लागि सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको पनि औंल्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *