देश

सेयर विवादले ढल्यो गृहमन्त्री पद, विवाद अझै बाँकी

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्।

बुधबार उनले सार्वजनिक रूपमा आफ्नो राजीनामा घोषणा गर्दै नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीलाई सम्बोधन गर्न नैतिक आधारमा पदत्याग गरेको बताएका हुन्।

गुरुङमाथि विवादास्पद व्यापारी दीपक भट्टसँग सेयर लगानी तथा व्यावसायिक सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि उनीमाथि चौतर्फी दबाब बढ्दै गएको थियो।

राजीनामा घोषणा गर्दै उनले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न आफूले पद छाड्ने निर्णय गरेको संकेत दिएका छन्।यसअघि उनीमाथि राजनीतिक दल, नागरिक समाज र विभिन्न समूहबाट छानबिनको माग हुँदै आएको थियो।

मन्त्री गुरुङले केहीबेरअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए ।

उनले राजीनमा दिदै भनेका छन्:

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

For my country and For the respect of our security forces and For the youths of Nepal.

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *