काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरू पक्राउ परेर थुनामा राखिएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस वक्तव्यमा केन्द्रीय सदस्य ईं. भुवन भट्टसहित कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल वि.सी लगायत विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिडडुल गर्ने अधिकार र विरोध वा असहमति जनाउने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको स्मरण गराउँदै यस्ता अधिकारको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व भएको बताइएको छ ।
शान्तिपूर्ण रूपमा अधिकार प्रयोग गर्ने क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्नुले विधिको शासन र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको कांग्रेसको भनाइ छ । असहमतिलाई दमन गर्ने सरकारको शैली संविधान र लोकतान्त्रिक मर्मविपरीत रहेको पनि वक्तव्यमा उल्लेख छ ।
कांग्रेसले असहमति र विरोध लोकतन्त्रको अभिन्न अङ्ग भएको भन्दै त्यसलाई दमन होइन, संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखेको छ ।
पार्टीले सम्बन्धित निकायसँग पक्राउ परेका नेविसंघका नेताहरूलाई विना शर्त तत्काल रिहा गर्न र भविष्यमा नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न माग गरेको छ ।





