सिद्धार्थनगर । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोपमा दुई जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गर्भपतनका क्रममा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थप दुई जना चिकित्सकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डी.बी. खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रालिका सञ्चालक डा. सतिस रूपाखेती रहेका छन् । यसअघि इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई पनि पक्राउ गरिएको थियो ।
करिब १२ हप्ताकी गर्भवती पाण्डे वैशाख ५ गते श्रीमान्सँग बुटवलको इँटाभट्टास्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यसपछि विभिन्न स्वास्थ्य संस्थामा रिफर गर्दै लैजाँदा उनको मृत्यु भएको परिवारको आरोप छ ।
परिवारले लापरबाहीपूर्ण ढंगले उपचार र गर्भपतन गराउँदा मृत्यु भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले केही समय सडक अवरुद्ध गर्दै विरोधसमेत जनाएका थिए ।
मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




