देश

रास्वपा केन्द्रीय समिति बैठक आज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।प्रवक्ता झाकाअनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ।

प्रवक्ता झाले बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि प्रत्येक सदस्यलाई २ मिनेटको समय उपलब्ध गराइने जानकारी दिए।

बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ। यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा गहन विमर्श हुने झाले बताए।

रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ’स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने नयाँ प्रस्ताव पनि अघि सारेको छ। प्रवक्ता झाकाअनुसार प्रवासमा रहेका नेपालीहरूलाई उनीहरू रहेकै ठाउँबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई रास्वपाले प्राथमिकताका साथ कार्यसूचीमा राखेको छ।

बैठकले सचिवालयले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न आयोग र निकायबाट प्राप्त पत्राचारका बारेमा पनि निर्णय लिनेछ।

यसैगरी, विषयगत विभागहरूलाई योजना तयारी र नीति मन्थनका लागि आवश्यक निर्देशन दिने र संसदीय दलको विधान संशोधन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको प्रवक्ता झाले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *