म्याग्दी।म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । ताकमदेखि हिलापोखरी–सोलवाङ हुँदै जोड्ने यो गाउँपालिकाको केन्द्र रहेको मुना जोड्ने छोटो दूरीको र वैकल्पिक सडक हो ।
चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको यस आयोजना निर्माणका लागि २०८२ माघ महिनामा सापकोटा विल्डर्ससँग रु ७४ लाख ८६ हजार ४५२ मा ठेक्का सम्झौता भएको थियो ।
यस वर्ष ताकमदेखि हिलापोखरी खण्डको ८०० मिटर दूरीमा सडकलाई फराकिलो पार्ने, ४५० मिटर नाली, २५० घनमिटर ग्यावियन पर्खाल र चार ठाउँमा खोल्सामा कल्भर्ट निर्माण गर्न लागिएको धौलागिरि गाउँपालिकाका सवइञ्जिनियर लोकेन्द्र रावलले जानकारी दिए ।
गत फागुन महिनादेखि आयोजना निर्माणस्थलमा परिचालन भएको निर्माण कम्पनीले हालसम्म ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको छ । आगामी असार महिनासम्म ठेक्का सम्झौताको अवधि रहे पनि मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघिनै सम्पन्न गर्ने निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले बताए।
इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि भएको असहज अवस्थामा पनि आयोजना निर्माणलाई निरन्तरता दिएको उनले बताए। ताकमदेखि शिवाङ–मच्छिम– घट्टेखोला हुँदै मुना जोड्ने मुख्य सडक प्रदेश सरकारमार्फत स्तरोन्नतिको क्रममा छ ।
ताकमदेखि करिब छ किलोमिटर दूरीको हिलापोखरी हुँदै मुना जोड्ने कच्ची सडकमा २० मिनेटमा यात्रा गर्नुपर्छ भने शिवाङ–मच्छिम हुँदै मुना जोड्ने सडकमा हाल करिब ४० मिनेट लाग्छ । ताकमदेखि हिलापोखरी खण्डमा स्थानीयवासीको अगुवाइमा विसं २०७० मा मार्ग खोलिएको थियो ।
हिलापोखरी–सोलवाङ–मुनाखण्डको सडकको मार्ग खोल्ने काम स्थानीय तह कार्यान्वयनमा आएपछि भएको हो । ढोरपाटन र पूर्वी रुकुमसँग जोडिने रणनीतिक महत्वको मुख्य सडक बन्द भएको अवस्थामा र छोटो दूरीमा यात्रा गर्न चाहने हलुका सवारीसाधन तथा हिलापोखरी, सोलवाङका बासिन्दालाई सहज यातायातको व्यवस्था मिलाउन स्तरोन्नतिमा प्राथमिकता दिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।




