देश

राहदानीमा अतिरिक्त शर्त लेख्ने कर्मचारीमाथि अध्यागमनको कारबाही प्रक्रिया सुरु

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै अतिरिक्त र गैरकानुनी टिप्पणी गर्ने कर्मचारीमाथि कारबाहीका लागि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। विभागले यस्ता अतिरिक्त शर्त तोक्ने कुनै नीति नभएको स्पष्ट पारेको छ।

भिजिट भिसामा विदेश जान लागेका एक नेपाली नागरिकको राहदानीमा अध्यागमन कर्मचारीले प्रस्थान छापसँगै “काम गर्न पूर्ण रूपमा अनुमति छैन” भन्ने टिप्पणी उल्लेख गरेको भेटिएपछि विभागले छानबिन थालेको हो।

विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि नेपाली नागरिकलाई प्रचलित कानुनभन्दा बाहिर गई अतिरिक्त शर्त तोकेर प्रस्थान अनुमति दिने नीति वा निर्णय नरहेको स्पष्ट पारेको छ। विभागीय निर्णयभन्दा बाहिर गई यस्तो गैरकानुनी अभ्यास गर्ने कर्मचारीमाथि कारबाहीका लागि आन्तरिक अनुसन्धान अघि बढाइएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय छैन।” यस्तै गतिविधिलाई गैरकानुनी अभ्यासका रूपमा लिँदै दोषी कर्मचारीमाथि विभागीय कारबाही हुने जनाइएको छ।

अनावश्यक कागजात माग गर्ने तथा तजबिजीको आधारमा निर्णय हुने अनियमितता नियन्त्रण गर्न सरकारले २०८२ कात्तिक १३ गतेको निर्णयअनुसार भिजिट भिसामा विदेश जाने नागरिकका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य देशसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भए स्वघोषणासहित प्रस्थान अनुमति दिने व्यवस्था लागू गरेको थियो।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार यात्रुहरूको आगमन–प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण, सेवा प्रवाहमा आधुनिकीकरण तथा राष्ट्रिय सुरक्षा सुदृढीकरणका क्षेत्रमा समेत काम भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *