काठमाडौँ । एसिया–प्रशान्त क्षेत्रका श्रमिकहरूको प्रतिनिधित्व गर्ने विभिन्न ग्लोबल युनियन फेडेरेसनहरू (GUFs) ले नेपालमा ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप हुन नहुने भन्दै सरकारको प्रस्तावित कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
BWI, IndustriAll, IFJ, ITF, PSI लगायत अन्तर्राष्ट्रिय युनियन संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने श्रमिकहरूको प्रतिनिधित्व गर्ने ट्रेड युनियनहरूलाई प्रतिबन्ध लगाउने सरकारको प्रस्ताव तत्काल र बिना सर्त फिर्ता लिन आग्रह गरेका हुन्।
वक्तव्यमा नेपालले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) महासन्धि नं. ९८ तथा १९९८ को ILO घोषणापत्रअनुसार सबै श्रमिकलाई—सार्वजनिक सेवा क्षेत्रमा कार्यरत श्रमिकसहित—आफ्नो रोजाइको संगठन खोल्न र त्यसमा आबद्ध हुन पाउने अधिकार सुनिश्चित गरिएको उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय युनियनहरूले यस्तो प्रस्ताव नेपालको संविधान २०७२ को धारा ३४ र ३५ विपरीत रहेको पनि बताएका छन्। ती धाराहरूले स्पष्ट रूपमा श्रमिकहरूलाई ट्रेड युनियन खोल्ने तथा सामूहिक सौदाबाजीमा सहभागी हुने अधिकार प्रदान गरेको वक्तव्यमा स्मरण गराइएको छ।
वक्तव्यमा ट्रेड युनियनमा संगठित हुने निर्णय श्रमिकहरूको लोकतान्त्रिक अधिकार भएको र यसमा सरकारको हस्तक्षेप अस्वीकार्य हुने उल्लेख छ। सार्वजनिक सेवामा कार्यरत श्रमिकहरूले जनस्वास्थ्य, खानेपानी, सरसफाइ, ऊर्जा, स्थानीय सेवा, सार्वजनिक निर्माण तथा कल्याणकारी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भएकाले उनीहरूलाई अन्य श्रमिकसरह समान मौलिक अधिकार प्राप्त हुनुपर्नेमा जोड दिइएको छ।
अन्तर्राष्ट्रिय युनियनहरूले प्रस्ताव अगाडि बढे नेपालले ILO का निगरानी निकाय, संयुक्त राष्ट्रसंघीय मानव अधिकार संयन्त्र तथा श्रम मापदण्डसँग जोडिएका व्यापारिक सुविधामा समेत गम्भीर असर बेहोर्नुपर्ने चेतावनी दिएका छन्।
उनीहरूले नेपाल सरकारलाई ट्रेड युनियन प्रतिबन्ध प्रस्ताव फिर्ता लिन, संविधान तथा ILO महासन्धिअनुसारका दायित्व पालना गर्न, ‘एप्लिकेसन अफ स्ट्यान्डर्ड्स २०२५’ का सिफारिसहरू कार्यान्वयन गर्न तथा श्रम सुधारका विषयमा ट्रेड युनियनहरूसँग वास्तविक सामाजिक संवाद गर्न आह्वान गरेका छन्।
संयुक्त वक्तव्यमा नेपालका श्रमिक र ट्रेड युनियनहरूसँग पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरूको मौलिक अधिकारको रक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै कदम चालिने उल्लेख गरिएको छ।





