देश

ललितपुरमा शनिबार रातो मच्छिन्द्रनाथको रथारोहन हुने

ललितपुर। वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ ।

हाल पुलचोकमा रथ निर्माण भइरहेको छ । रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ । ञँवालका नाइके प्रेम महर्जनका अनुसार शनिबार (भोलि)सम्म रथ निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहन गरिनेछ । “परम्पराअनुसार रथ तयार भएपछि यसको टुप्पामा गजुर (ब्यामो) राखिन्छ, जुन रथ निर्माण सम्पन्न भएको सङ्केत मानिन्छ”, उहाँले भन्नुभयो ।

गजुर राखेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोकमा ल्याइनेछ । मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित रातो मच्छिन्द्रनाथको पुजाहारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहन्छ । मन्छिन्द्रनाथको मूर्तीलाई पूजागरी रथमा चढाइन्छ ।

रथारोहन सम्पन्न भएपछि पात्रोको तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको ञँवालका नाइके महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन रथलाई गाबल पुर्‍याइनेछ ।

रातो मच्छिन्द्रनाथ जात्रा उपत्यकाको सबैभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ । प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइने यस जात्राले स्थानीय समुदायमा विशेष महत्त्व राख्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *