देश

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

काठमाडाैँ। बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग बस्दैछन्।

बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे र लुम्बिनी प्रदेशसभाको बैठक अपराह्न १ बजेबस्ने कार्यसूची छ।

बागमती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

प्रदेशसभाको गत चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ प्रस्तुत भई समान्य छलफलसमेत भएको थियो।

सोही विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरी दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने सचिव पौडेलले बताए।

यसैगरी लुम्बिनी प्रदेश सभाको बैठक तीन कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकको सुरुआतमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नेछन्।

यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढा ले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *