देश

सर्वोच्चको आदेशपछि नेपाली कांग्रेसभित्र त्रिकोणात्मक शक्ति संघर्ष, बलियो कांग्रेस बनाउन एक जुट हुन आवश्यक

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनपछि देखिएको शक्ति सन्तुलनको प्रश्न अब खुला राजनीतिक प्रतिस्पर्धामा रूपान्तरण हुन थालेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता गगन थापालाई दिएपछि कांग्रेसभित्र तीनवटा स्पष्ट ध्रुव देखिएका छन्स-भापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला समूह।

यही नयाँ समीकरणबीच धुम्बाराहीमा देउवा निकट नेताहरूको रणनीतिक भेला बसेको छ। निर्वतमान उपसभापति पूर्णबहादुर खड्काको पहलमा मंगलबार सुरु भएको बैठकलाई केवल सामान्य भेटघाट नभई आगामी शक्ति सन्तुलनको प्रारम्भिक अभ्यासका रूपमा हेरिएको छ। बैठकमा पूर्णबहादुर खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, शशांक कोइराला, विजयकुमार गच्छदार, एनपी साउद, सुजाता कोइराला, उमाकान्त चौधरी र मोहन बस्नेतलगायत शीर्ष नेताहरू सहभागी भएका थिए । उक्त उपस्थिति देउवा समूह अझै कमजोर नभएको सन्देश दिन पर्याप्त मानिएको छ।

सर्वोच्चको निर्णयपछि देउवा पक्षले औपचारिक रूपमा फैसला स्वीकार गरिसकेको छ। तर राजनीतिक रूपमा उनीहरू निष्क्रिय बस्ने पक्षमा छैनन्। धुम्बाराही बैठकको मुख्य उद्देश्य नयाँ नेतृत्वसँग सम्बन्ध कायम राख्दै संगठनभित्र आफ्नो प्रभाव जोगाउनु रहेको बुझिएको छ। देउवा लामो समय कांग्रेसको शक्ति केन्द्र थिए। त्यसैले नेतृत्व गुमे पनि संरचना, सम्बन्ध र संगठनमा रहेको प्रभाव तत्काल समाप्त हुने सम्भावना कम छ। यही कारण देउवा पक्ष अब प्रत्यक्ष नियन्त्रणभन्दा ‘किङमेकर’ भूमिकातर्फ उन्मुख हुन सक्ने आकलन गरिएको छ।

मंगलबार नै धुम्बाराहीमा देउवा समूह जुटिरहेका बेला डा. शेखर कोइरालाले वैशाख १७ गते आफ्नै पक्षको बागमती प्रदेशस्तरीय भेला बोलाएर अलग शक्ति प्रदर्शनको संकेत दिएका छन्। उनको भेलामा बहालवाला तथा निवर्तमान केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, प्रदेशसभा सदस्य तथा प्रदेश समितिका नेताहरूलाई बोलाइएको स्रोतले जनाएको छ । सो भेला वैशाख १७ गतेलाई आह्वान गरिएको छ । यसले शेखर समूह कांग्रेसभित्र तेस्रो शक्ति मात्र नभई वैकल्पिक नेतृत्व दाबेदारका रूपमा सक्रिय रहन चाहेको देखाउँछ।शेखर कोइराला लामो समयदेखि पार्टीभित्र सुधारवादी र वैचारिक धाराका प्रतिनिधि मानिन्छन्। त्यसैले उनी प्रत्यक्ष टकरावभन्दा संगठनात्मक विस्तार र आन्तरिक जनमत निर्माणमा केन्द्रित देखिएका छन्।

सर्वोच्च अदालतको आदेशपछि गगन थापा कांग्रेसको वैधानिक नेतृत्वमा पुगेका छन्। उनले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताएका छन्। साथै १५औँ महाधिवेशन सफल बनाउन सबै पक्षसँग संवादमा रहेको सन्देश दिएका छन्। तर गगनका लागि चुनौती केवल नेतृत्व सम्हाल्नु मात्र होइन, पुराना गुटहरूलाई व्यवस्थापन गर्नु पनि हो। देउवा पक्ष अनुभवी र संगठित छ भने शेखर पक्ष वैकल्पिक जनमत बोकेको समूह हो। यी दुवैलाई सन्तुलनमा राख्न नसके कांग्रेसभित्र आन्तरिक तनाव बढ्न सक्छ। संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन भएका भीष्मराज आङ्देम्बेले शीर्ष नेताहरूसँग भेटघाट तीव्र बनाएका छन्। उनले पूर्णबहादुर खड्का र शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेर आफू समन्वयकारी भूमिकामा रहन चाहेको संकेत दिएका छन्। उनी संसदीय मोर्चामा प्रभावशाली बनेसँगै कांग्रेसभित्र अर्को सन्तुलनकारी पात्रका रूपमा उदाउन सक्ने विश्लेषण भइरहेको छ।

कांग्रेसभित्रको वर्तमान अवस्था गुटबन्दीको निरन्तरता मात्र होइन, पुस्तान्तरण र शक्ति पुनर्संरचनाको प्रक्रिया पनि हो। गगन थापा नयाँ पुस्ताको नेतृत्वका प्रतीक हुन्, देउवा पुरानो संगठनात्मक संरचनाका प्रतिनिधि हुन्, भने शेखर कोइराला वैकल्पिक आन्तरिक लोकतन्त्रको आवाजका रूपमा प्रस्तुत छन्। यदि यी तीन ध्रुवबीच सहकार्य भयो भने कांग्रेस नयाँ ऊर्जा सहित पुनर्गठित हुन सक्छ। तर प्रतिस्पर्धा टकरावमा बदलियो भने पार्टी फेरि लामो आन्तरिक अस्थिरतामा फस्ने खतरा छ। अहिलेलाई स्पष्ट संकेत एउटै छ–सर्वोच्चको आदेशले नेतृत्व टुंग्याए पनि कांग्रेसभित्रको शक्ति संघर्ष भने अझै टुंगिएको छैन। कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सबै कांग्रेसी नेता तथा कार्यकर्ताहरु एक ठाउँमा उभिएर अघि बढ्नु ताजा आवश्यकता रहेको कांग्रेस संस्थापन समुहको सुझाव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *