देश

कांग्रेस विवादमा शेखरको मध्यमार्गी प्रस्ताव : ‘महाधिवेशन रोकौं, समझदारी खोजौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले अघि बढाउन लागेका दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् ।

पार्टीको आन्तरिक समस्या तथा आसन्न दुई महाधिवेशनका सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुवै महाधिवेशनबाट मुलुकको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्न सक्ने बताएका हुन् ।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ उनले भनेका छन्, ‘यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं ।’

कोइरालाले आफूले विगतमा पनि पार्टीभित्र समझदारी कायम गर्न यस्तै प्रयास गरेको र अहिले पनि त्यही काममा लाग्ने बताएका छन् ।

उनले मध्यमार्गको बाटो कठिन भए पनि सत्यको बाटो यही भएको दाबी गरेका छन् । ‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो,’ उनले भनेका छन्, ‘यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’

आफू अहिले आरोपित भइरहेको उल्लेख गर्दै कोइरालाले कांग्रेस र मुलुकको लोकतन्त्र सफल भएको हेर्ने आफू सधैँ एक सिपाहीका रूपमा रहने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *