देश

उपसचिव परीक्षाले कर्मचारी काठमाडौंमा केन्द्रित, जिल्लाका कार्यालयमा सेवा सुस्त

काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदका लागि लिन लागेको आन्तरिक प्रतियोगितात्मक परीक्षाका कारण देशभरका करिब २ हजार ५ सय शाखा अधिकृत काठमाडौंमा केन्द्रित भएका छन्। पछिल्ला केही दिनदेखि राजधानी आउने क्रम बढेसँगै जिल्लास्थित सरकारी कार्यालयहरूको नियमित कामकाज प्रभावित हुन थालेको छ।

उक्त परीक्षा वैशाख १९ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन हुने संशोधित तालिका सार्वजनिक भइसकेको छ। परीक्षामा सहभागी हुन आएका कर्मचारीहरू कम्तीमा तीन सातासम्म कार्यस्थलबाट बाहिर रहने अवस्था देखिएको छ। यसको असर विशेषगरी जिल्लाका प्रशासनिक कार्यालयहरूमा देखिन थालेको छ। शाखा अधिकृतको अनुपस्थितिले निर्णय प्रक्रिया, फाइल टिप्पणी, भुक्तानी, अनुगमन तथा दैनिक प्रशासनिक सेवा प्रभावित बनेको जनाइएको छ। जिल्ला प्रशासन, मालपोत, नापी र श्रम कार्यालयमा सेवा प्रवाह सुस्त भएको कर्मचारीहरू बताउँछन्।

लोक सेवा आयोगले विगतमा माघ महिनामा सञ्चालन गर्ने परीक्षा यसपटक फागुन २१ गतेको आमनिर्वाचनका कारण सारेर वैशाख–जेठमा राखेको हो। तर यही समय सरकारी कार्यालयहरूका लागि वार्षिक योजना कार्यान्वयन, बजेट खर्च तथा चौथो त्रैमासिक लक्ष्य पूरा गर्ने संवेदनशील अवधि मानिन्छ। सरकारले सार्वजनिक सेवा चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरिरहे पनि कर्मचारीको ठूलो संख्या एकैपटक काठमाडौं आउँदा जिल्लामा कामको चाप बढेको छ।

प्रदेश कार्यालयबाट शाखा अधिकृतसम्मको परीक्षा सञ्चालन हुँदै आए पनि उपसचिव तहको परीक्षा भने काठमाडौंमै सीमित छ। यस व्यवस्थाप्रति कर्मचारीहरूले असन्तुष्टि जनाउँदै प्रदेशस्तरमै परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएका छन्। एक शाखा अधिकृतका अनुसार साउनपछि परीक्षा सञ्चालन गरिएको भए कार्यालयको काममा कम असर पर्ने थियो। उनका अनुसार वैशाख, जेठ र असार महिना अधिकांश कार्यालयका लागि अत्यधिक व्यस्त समय हो। कर्मचारीको ठूलो जमात राजधानी केन्द्रित हुँदा सेवा प्रवाहमा देखिएको सुस्तीले प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *