काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ।
विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू हुने गरी भाडा वृद्धि गरिएको हो, जसको कार्यान्वयन आज बुधबारदेखि नै सुरु भएको छ।
अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाइएको छ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो। भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले वैशाख १२ गते सहमति दिएको थियो। सोहीअनुसार नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ।
विभागले विद्युतीय सवारीसाधनलाई भने भाडा नबढाउन स्पष्ट निर्देशन दिएको छ। यदि विद्युतीय सवारीले भाडा बढाएको पाइएमा आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ।





