काठमाडौं । पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा उनी भोलि काठमाडौं आउन लागेकी हुन् ।
आगामी मे १ सम्म हुने यस भ्रमणका क्रममा उनले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको मुख्य तालिका अनुसार वैशाख १७ गते डा. जाभियरले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नेछिन् । सोही दिन उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यी भेटघाटहरूमा दुई देशबीचको विद्यमान सम्बन्धको समीक्षा गर्नुका साथै सहयोगका नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पोर्चुगलका गैर–आवासीय राजदूत जोआओ रिबेरो डे अल्मेडासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउन लागेकी डा. जाभियरको यस भ्रमणले नेपाल र पोर्चुगलबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।




