देश

संघीय निजामती सेवा विधेयकमा ३५०० बढी सुझाव, मन्त्रालयद्वारा विश्लेषण जारी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा व्यापक रूपमा सुझाव संकलन भइरहेको जनाएको छ।

मन्त्रालयले सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यसहित तयार पारिएको उक्त विधेयकको प्रारम्भिक मस्यौदा सार्वजनिक गरी सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट राय–सुझाव माग गरेको हो। मस्यौदा वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको थियो।

मस्यौदा सार्वजनिक भएयता हालसम्म तीन हजार पाँच सयभन्दा बढी सुझाव प्राप्त भइसकेका छन्। साथै सामाजिक सञ्जालमार्फत आएका प्रतिक्रिया र सुझावहरू पनि संकलन तथा विश्लेषण भइरहेको मन्त्रालयले जनाएको छ।

प्राप्त सुझावलाई व्यवस्थित रूपमा अध्ययन र विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको छ। उक्त कार्यसमूहले विधेयकलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुझावहरूको अध्ययन गरिरहेको बताइएको छ।

मन्त्रालयले सार्वजनिक गरेको मस्यौदा प्रारम्भिक भएकाले यसमा सुधारका धेरै पक्षहरू रहेको स्वीकार गर्दै अन्तिम रूप दिनुअघि प्राप्त सुझावहरूको उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने स्पष्ट पारेको छ। यस प्रक्रियामा सरोकारवालाहरूका सुझावलाई महत्वका साथ लिइने पनि मन्त्रालयले जनाएको छ।

यसैबीच मन्त्रालयले थप सुझाव संकलनका लागि इमेल र व्हाट्सएप नम्बरमार्फत पनि राय पठाउन सकिने व्यवस्था गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *