खेलकुद

ओमानसँग नेपाल ‘ए’को हार

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको तयारीमा रहेको ओमानले नेपाल ‘ए’लाई पराजित गरेको छ । बुधबार दिउँसो भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’लाई ७१ रनले हराएको हो ।

जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै २ सय ९ रन मात्र बनाउन सक्यो । नेपालको लागि शीर्षक्रममा ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपनि मध्यम र तल्लो क्रमका ब्याटरले राम्रो साथ दिन नसक्दा पराजित हुन पुगेको हो । नेपालका अनिल साह र इशान पाण्डेले अर्धसतक बनाए । इशानले ६२ बलमा ३ चौकाको मद्दतमा ५२ रन बनाउँदा अनिलले ६४ बलमा ६ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै देव खनालले ४३, त्रित राज दासले ३१ र सन्दीप जोराले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

ओमानका शकिल अहमद र हसनाइन शाहले तीन/तीन विकेट लिँदा नदीम खान र मुजिबुर अलिले एक/एक विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो । ओमानको लागि जतिन्दर सिंह र मुजिबुर अलीले अर्धसतक बनाए । मुजिबुरले ८५ बलमा ४ चौका र तीन छक्काको मद्दतमा ७२ रन बनाउँदा जतिन्दरले ४८ बलमा ९ चौका र एक छक्काको सहयोगमा ५८ रन जोडे । यस्तै हषिर डाफेदरले ४६, आशिष ओडेडाराले २७, विनायक शुक्लाले २५ र जितेन रामानान्दीले १७ रन बनाए ।

नेपालका आकाश चन्दले ९ ओभरमा ३१ रन दिएर चार विकेट लिँदा सन्तोष यादवले दुई तथा शाहाब आलम, शेर मल्ल र रसिद खानले एक/एक विकेट लिए ।

अब दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *