काठमाडौं । सरकारले सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा उक्त अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले यसअघि २०७५ भदौ १ गते भएको निर्णय संशोधन गर्दै महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः सोही प्रतिष्ठानले प्रयोग गर्ने निर्णय गरेको छ ।
यसैगरी, इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सिउरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णयसमेत गरिएको छ ।




