अर्थ

नेपालमा विदेशी लगानी बढ्दो, ६१५ परियोजनामा ४१ अर्ब प्रतिबद्धता

काठमाडौं । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम उल्लेखनीय रूपमा बढ्दै गएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामै ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

गत साउनदेखि चैत मसान्तसम्म ६१५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । ती परियोजनामार्फत २२ हजार ३१६ जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत राखिएको छ ।

विभागका अनुसार चैत महिनामा मात्रै ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

परियोजनागत रूपमा हेर्दा कृषिमूलक क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी आकर्षित भएको छ । यस अवधिसम्म १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

त्यसैगरी, पर्यटन क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ लगानी आएको छ । सेवामूलक क्षेत्रमा ४७ परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमूलक (औद्योगिक) क्षेत्रमा ३८ परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ तथा सूचना प्रविधि क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

यता ऊर्जा क्षेत्रमा भने लगानी आकर्षण कमजोर देखिएको छ । समीक्षा अवधिमा केवल दुई परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

खनिजमूलक क्षेत्रमा पनि स्थिति उस्तै देखिएको छ । दुई परियोजनामा जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *