देश

संविधान संशोधन बहसमा बास्कोटाको प्रस्ताव : ‘प्रदेश खारेज गरौँ, प्रत्यक्ष निर्वाचन मात्रै अपनाऔँ’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनको बहसलाई नयाँ मोड दिँदै प्रदेश संरचना खारेजदेखि समानुपातिक निर्वाचन प्रणाली हटाउनसम्मका प्रस्ताव सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै संघीयता र वर्तमान शासन प्रणालीबारे स्पष्ट धारणा दिन चुनौती दिएका हुन्। विगतमा संघीयता विरोधी अभिव्यक्ति दिएको रास्वपाले अब संविधान संशोधनको मुद्दामा के अडान लिन्छ भन्ने प्रश्न उनले उठाएका छन्।

बास्कोटाले अहिलेको तीन तहको शासन संरचनालाई खर्चिलो र जटिल भन्दै केन्द्र र स्थानीय तह मात्रै कायम रहने दुई तहको व्यवस्था उपयुक्त हुने तर्क गरेका छन्। उनका अनुसार प्रदेश सरकार हटाएर स्थानीय तहलाई थप अधिकार र स्रोत दिँदा प्रशासनिक भार कम हुने र शासन प्रणाली प्रभावकारी बन्न सक्छ। त्यस्तै उनले प्रतिनिधिसभामा कायम रहेको समानुपातिक निर्वाचन प्रणाली पूर्ण रूपमा हटाउनुपर्ने धारणा राखेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीलाई मात्रै कायम राखेर महिला र पुरुष उम्मेदवारको निश्चित अनुपात सुनिश्चित गर्नुपर्ने उनको प्रस्ताव छ।

राष्ट्रिय सभाको संरचनामा पनि व्यापक फेरबदल आवश्यक रहेको उल्लेख गर्दै बास्कोटाले सदस्य संख्या १०५ पुर्‍याउनुपर्ने र महिला–पुरुष प्रतिनिधित्व बराबरी हुनुपर्ने बताएका छन्। साथै, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने सुझावसमेत उनले दिएका छन्। उनले जिल्ला समन्वय समिति ९जिसस० लाई अनावश्यक संरचना भन्दै खारेज गर्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन्। बास्कोटाको यो अभिव्यक्तिसँगै संविधान संशोधन, संघीयताको स्वरूप र निर्वाचन प्रणालीबारे नयाँ राजनीतिक बहस सुरु हुने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *