काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा पुनः परिवर्तन भएको छ। सरकारको पछिल्लो प्रशासनिक निर्णयसँगै प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु श्रेष्ठलाई दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। उनी हालसम्म प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
यसअघि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ लागू भएपछि स्वतः पदमुक्त भएका थिए। अध्यादेश लागू भएसँगै विभिन्न निकायमा पदाधिकारी परिवर्तन हुने क्रम चलिरहेकै बेला प्राधिकरणमा पनि नेतृत्व रिक्तता सिर्जना भएको थियो।
त्यही रिक्त स्थानमा सरकारले तत्कालै श्रेष्ठलाई निमित्त जिम्मेवारी दिएको हो। सरकारले अध्यादेशमार्फत उच्च पदस्थ पदाधिकारी हटाउने र तुरुन्तै नयाँ नियुक्ति गर्ने अभ्यासले प्रशासनिक स्थायित्व र संस्थागत स्वतन्त्रतामाथि प्रश्न उठ्न थालेको छ। एकै निर्णय प्रक्रियाभित्र पदमुक्ति र नियुक्ति दुवै हुनु व्यवस्थापकीय पूर्वानुमानभन्दा बढी राजनीतिक हस्तक्षेपमुखी देखिएको टिप्पणी पनि भइरहेको छ।
विद्युत् प्राधिकरण देशको ऊर्जा आपूर्ति, वितरण व्यवस्थापन र ग्राहक सेवा प्रणालीको केन्द्रमा रहने संस्था हो। यस्तो संवेदनशील निकायको नेतृत्व बारम्बार परिवर्तन हुँदा नीति कार्यान्वयन र दीर्घकालीन योजना प्रभावित हुने जोखिम रहने विज्ञहरूको भनाइ छ। नव नियुक्त निमित्त कार्यकारी निर्देशक श्रेष्ठका लागि अबको मुख्य चुनौती प्राधिकरणको नियमित सेवा सञ्चालनसँगै संस्थागत स्थायित्व कायम गर्नु रहनेछ।





