देश

दुर्घटनापछि व्यवसायीलाई थुनिने प्रवृत्ति अन्त्य गर्न यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीलाई अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारसँग माग गरेका छन् । महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले दुर्घटनापछि व्यवसायीलाई पक्राउ गर्ने, डरत्रास देखाउने र दबाब दिने कार्यले लगानीकर्ता निरुत्साहित भएको बताए ।

“यातायात व्यवसायी अपराधी होइनन्,” उनले भने, “राज्यले व्यवसायीलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्छ, अपराधीजस्तो व्यवहार होइन ।”अध्यक्ष स्वाँरले हालको बीमा प्रणाली व्यवसायीमैत्री नभएको उल्लेख गर्दै बीमा नीतिमा तत्काल सुधार आवश्यक रहेको बताए । बीमा प्रक्रिया पूरा गरिसकेपछि पनि व्यवसायीलाई कानुनी झमेलामा पार्ने अभ्यास बन्द हुनुपर्ने उनको भनाइ थियो ।

उनले निजी क्षेत्रको लगानीबिना यातायात सेवा विस्तार सम्भव नभएको उल्लेख गर्दै राज्यले यातायात क्षेत्रलाई व्यवस्थित र सम्मानित उद्योगका रूपमा विकास गर्नुपर्ने धारणा राखे । साझा यातायातजस्ता सरकारी संस्थामा ठूलो लगानी हुँदा पनि अपेक्षित प्रतिफल नआएको उदाहरण दिँदै उनले देशभर निजी क्षेत्रले आफ्नै स्रोतबाट सेवा सञ्चालन गरिरहेको बताए ।

“घरमै बसेका व्यवसायीलाई पक्राउ गरेर थानामा पुर्‍याउने र बार्गेनिङ गर्ने प्रवृत्ति बन्द हुनुपर्छ,” उनले भने, “हामी राज्यलाई ठूलो परिमाणमा राजस्व बुझाउने जिम्मेवार नागरिक हौँ ।”

यातायात व्यवस्थापनको अधिकार प्रदेश तहमा गइसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजन र समन्वय आवश्यक रहेको पनि उनले बताए । उनका अनुसार संघीय सरकारले नीति निर्माण, प्रदेश सरकारले कर तथा सुविधा व्यवस्थापन र स्थानीय तहले सञ्चालन तथा अनुगमनको जिम्मेवारी लिनुपर्छ ।
महासंघको आगामी निर्वाचनमा पहिलोपटक विद्युतीय मतदान प्रणाली (ई–भोटिङ) प्रयोग गरिने जानकारी पनि अध्यक्ष स्वाँरले दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *