चितवन । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित एक पार्टी प्यालेसमा आयोजित विवाह भोजपछि ठूलो संख्यामा पाहुना बिरामी परेका छन् । भोजमा खाएको खानाबाट ‘फुड पोइजनिङ’ भएको आशंकासहित हालसम्म ९३ जना प्रभावित भएका छन् ।
घटनापछि तीमध्ये ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाँकी बिरामीको अवस्था सामान्य रहेको र निगरानीमा राखिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन का अनुसार यही वैशाख २३ गते भएको विवाह भोजपछि सहभागीहरूमा स्वास्थ्य समस्या देखिन थालेको हो । प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी ले प्रारम्भिक अनुसन्धानमा भोजको खानाबाटै समस्या देखिएको संकेत मिलेको बताए ।
बिरामीहरूको उपचार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस लगायतका अस्पतालमा भइरहेको छ । केही बिरामीलाई थप उपचारका लागि काठमाडौंका निजामती कर्मचारी अस्पताल र त्रिवि शिक्षण अस्पताल मा पनि पठाइएको छ ।
प्रहरीका अनुसार दुई जनालाई सघन उपचार कक्ष ९आईसीयू० मा राखिएको भए पनि अहिले उनीहरूको स्वास्थ्य अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ । सबै बिरामीको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् ।
घटनापछि सम्बन्धित पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । साथै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय ले पनि घटनाबारे विस्तृत अध्ययन सुरु गरेको जनाएको छ ।
डिभिजन कार्यालयका प्रमुख प्रमोदचन्द्र पौडेलका अनुसार चिकित्सकहरूले प्रारम्भिक रूपमा फुड पोइजनिङको कारण खानामा रहेको विषाक्त तत्व हुन सक्ने बताएका छन् । बिरामीहरूमा उच्च ज्वरो, पखाला र कमजोरीजस्ता लक्षण देखिएको उल्लेख गरिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र खानाको नमुना परीक्षणपछि वास्तविक कारण स्पष्ट हुने अधिकारीहरूले बताएका छन् ।




