काठमाडौँ । चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादमा उच्च अदालत पाटनले सेन्सर बोर्डसँग सम्बन्धित कागजात झिकाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले चलचित्र जाँच (सेन्सर) सम्बन्धी निर्णयका सक्कल कागजात झिकाउन निर्देशन दिएको उच्च अदालत पाटनका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार यस विषयमा बुधबार पुनः पेसी तोकिएको छ र त्यसै दिन थप छलफल हुने भएको छ ।
यसअघि अदालतले गत १५ वैशाखमा चलचित्र ‘लालीबजार’को प्रदर्शन आगामी २२ वैशाखसम्म रोक्न आदेश दिएको थियो । वादी समुदायकी रोशनी नेपालीले चलचित्रमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
यम थापाको निर्देशनमा बनेको चलचित्र ‘लालीबजार’ १८ वैशाखमा प्रदर्शन हुने तयारीमा थियो । षट्कोण आर्ट्सको निर्माण रहेको यो चलचित्र वादी समुदायका महिलाको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको बताइएको छ ।




