देश

संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास

धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको सङ्गम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका–३ मा पर्ने स्याउले पुगेपछि पर्यटन भनेको घुमफिरमात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध रहेको महसुस हुन्छ ।

यहाँको संस्कृति, प्रकृति र पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ सामुदायिक घरबास (होमस्टे)’ यहाँको मौलिक पहिचान बन्दै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आकर्षणसँगै होमस्टे केवल बसोबासको स्थानमा सीमित नरही समुदायको आत्मगौरव, अतिथिसत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त अनुभव दिने केन्द्रका रूपमा विकास हुँदै गएको हो ।

सीमान्तकृत आठपहरिया समुदायको धनकुटा नगरपालिका क्षेत्रमा मात्रै मुख्य बसोबास छ । धनकुटा नगरपालिकाको भूमिपुत्र भन्न रुचाउने आठपहरिया समुदायको चाडपर्व मान्न तथा पितृकार्य गर्न धनकुटा नगर क्षेत्रका विभिन्न स्थानमा भेला भएर सामूहिक रूपमा मनाउने चलन छ । कुनै बेला आठपहरिया समुदायमा अरुण र तमोर नदी कटेर जान हुँदैन भन्ने मान्यता थियो । अहिले भने विस्तारै रोजगारी, शिक्षालगायत सिलसिलामा बाहिर जाने पनि बढ्दैछन् ।

कुनै समय ओझेलमा परेको यो समुदाय अहिले आफ्नै संस्कृति र परम्परालाई आधार बनाएर पर्यटनको माध्यमबाट पुनर्जागृत हुँदैछन् । “पाहुनालाई स्वागत गर्ने शैलीदेखि खानपान, रहनसहन र मनोरञ्जनसम्म सबैमा मौलिकताको झल्को पाइन्छ । आगन्तुकलाई रातो टीका र फूलको मालाले स्वागत गरिन्छ, जसले नेपाली आतिथ्य संस्कारको आत्मीयता झल्काउँछ”, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भने ।

यहाँ सञ्चालित घरबासले लोपोन्मुख आठपहरिया समुदायको सांस्कृतिक धरोहरलाई पर्यटनसँग प्रभावकारी रूपमा जोडेको छ । यहाँ आउने पर्यटकलाई मौलिक तथा स्थानीय परिकारको स्वाद चखाउनेमात्र होइन, समुदायको जीवनशैली, परम्परा र संस्कृतिको प्रत्यक्ष अनुभव गराइन्छ ।

आठपहरिया समुदायद्वारा सञ्चालित घरबास बस्ने ठाउँमात्रै होइन, जीवित सङ्ग्रहालयजस्तै बन्दै गएको नगरप्रमुख तामाङले बताए । “यहाँ हुने प्रत्येक गतिविधिमा संस्कृतिको झल्को आउँछ । यहाँ आउने पर्यटकले स्थानीय परिकार र अग्र्यानिक उत्पादनको स्वाद लिन पाउँछन् । परम्परागत भान्साको बास्नाले आगन्तुकलाई गाउँले जीवनसँग नजिक बनाउने गरेको छ”, उनले भने ।

साथै यहाँको अनुभव प्रकृतिसँग पनि गासिएको छ । यामअनुसार सुन्तला बगैँचामा गएर फल टिप्ने, मौरीपालनबारे जानकारी लिने, स्थानीय बीउबिजनबारे बुझ्ने अवसरले पर्यटकलाई नयाँ अनुभूति दिने उनले बताए । साँझपख हुने सांस्कृतिक कार्यक्रम ढोल नाच, लोकगीत र परम्परागत नृत्यले वातावरणलाई अझ जीवन्त बनाउँछ ।

घरबासका अध्यक्ष हिराबहादुर आठपहरियाले एकैपटक करिब १७ जना पाहुनालाई सेवा दिन सकिने बताए । “प्राथमिकता सङ्ख्या बढाउनु होइन, गुणस्तरीय अनुभव दिनु हो । हामी पर्यटकलाई सेवासँगै हाम्रो पहिचान पनि दिन चाहन्छौँ”, उनले भने । पर्यटकलाई आठपहरिया समुदायको इतिहास, संस्कार र जीवनशैलीबारे जानकारी दिनुका साथै कृषि, संस्कृति र प्रकृतिसँग नजिकबाट परिचित गराइने उनले बताए ।

अध्यक्ष आठपहरियाका अनुसार आधुनिकताको प्रभावले नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति आकर्षण घट्दै गए पनि घरबाम सञ्चालनमार्फत ती कला–संस्कृतिको संरक्षणमा समुदाय सक्रिय रूपमा लागिरहेको छ । आधुनिकताको तीव्र प्रभावले धेरै परम्परागत कला र संस्कृतिहरू लोप हुँदै गएको अवस्थामा आठपहरिया समुदाय भने त्यसलाई जोगाउने अभियानमा जुटेको उनको भनाइ छ ।

नयाँ पुस्तालाई आफ्नै परम्परा चिनाउने र त्यसप्रति गर्व गर्ने वातावरण सृजना गर्न घरबास महत्त्वपूर्ण माध्यम बनेको नगरप्रमुख तामाङले बताए । उनले आठपहरियाको संस्कार, संस्कृति रक्षा गर्न धनकुटा नगरपालिकाले काम गरिरहेको भन्दै यस्तै काम गर्ने घरबासलाई सहयोग गर्न तयार रहेको पनि बताए ।

विसं २०७८ को जनगणनाअनुसार आठपहरिया समुदायको जनसङ्ख्या पाँच हजार ८७८ रहेको छ । धनकुटा नगरपालिकालाई आठपहरिया समुदायको उद्गमस्थल मानिन्छ । घरबासमार्फत यो समुदायले आफ्नो भाषा, गीत, नृत्य र संस्कारलाई जीवित राख्दै आएका छन् । आठपहरियाको होमस्टे निर्माणमा विभिन्न सङ्घसंस्थाको सहयोग पनि रहेका अध्यक्ष आठपहरियाले बताए ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभ्लप्मेन्ट (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन)ले स्थापना र व्यवस्थापनमा सहयोग पुर्याएका छन् । त्यसैगरी नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले क्षमता अभिवृद्धि र प्रवद्र्धनमा टेवा दिएको छ ।

स्थानीय युवा अहिले पर्यटन व्यवस्थापन, पथप्रदर्शक र पाहुना सेवामा दक्ष बन्दै गएका छन् । यसले युवाहरूलाई गाउँमै रोजगारीको अवसर प्रदान गरेको छ भने वैदेशिक रोजगारीप्रति निर्भरता पनि घटाउँदै लगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *