काठमाडौं । मिलेनियम च्यालेन्ज सम्झौता (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नेपाल–भारत सीमासम्म जोडिने सीमापार विद्युत् प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ।
न्यू बुटवलस्थित ४०० केभी क्षमताको सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन निर्धारित समयमै निर्माण सम्पन्न भएको एमसीए–नेपालले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहपछि निर्माण कार्यलाई तीव्रता दिइएको थियो।
१८ किलोमिटर खण्ड पूरा भएसँगै नेपालतर्फ सीमापार प्रसारण लाइनअन्तर्गत एमसीए–नेपालले गर्नुपर्ने मुख्य निर्माण कार्य सम्पन्न भएको छ। अब नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा बाँकी प्रक्रिया अघि बढाइनेछ।
अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सहकार्य विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि समयमै निर्माण सम्पन्न गरेकोमा एमसीए–नेपाललाई बधाई दिएका थिए।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सरकारको आग्रहअनुसार आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदार परिचालन गरी छोटो समयमै निर्माण सम्पन्न गरिएको बताए।
एमसीए–नेपालको विद्युत् प्रसारण आयोजनाअन्तर्गत कुल ३१५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ। आयोजनाले नेपालको विद्युत् आपूर्ति तथा प्रसारण प्रणाली सुदृढ बनाउने, ऊर्जा सुरक्षा बढाउने, भविष्यमा थपिने विद्युत् उत्पादनलाई प्रसारण गर्न सहज बनाउने तथा सीमापार विद्युत् व्यापार विस्तारमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।




