देश

पूर्णबहादुर खड्काको सरकारलाई सुझाव – प्रधानन्यायाधीश नियुक्तिमा परम्परा नतोडियोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का ले प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर सरकार र संवैधानिक परिषद्लाई गम्भीर सावधानी अपनाउन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले करिब चार दशकदेखि कायम रहेको वरिष्ठतामा आधारित प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काउने प्रयास भए न्यायालयभित्र अस्थिरता र अन्योल बढ्ने चेतावनी दिएका हुन्।

संवैधानिक परिषद्को बैठक बस्नुअघि उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको परिषद्लाई लक्षित गर्दै न्यायालयको स्थायित्व र विश्वसनीयता जोगाउन स्थापित अभ्यासलाई सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्। खड्काले न्यायपालिकामा असुरक्षा र अनिश्चितता सिर्जना भए त्यसको प्रभाव केवल अदालतमा सीमित नहुने, लोकतान्त्रिक प्रणालीमै गम्भीर असर पर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “दीर्घकालदेखि अभ्यासमा रहेको नियुक्ति प्रणाली तलमाथि गरियो भने न्यायालयमा डरलाग्दो अस्थिरता आउन सक्छ।” प्रधानन्यायाधीश नियुक्तिलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका बेला खड्काको अभिव्यक्तिलाई न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक अभ्याससँग जोडेर हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *