काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि प्रेस स्वतन्त्रताको सुनिश्चितता अपरिहार्य रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले नागरिक समाजले सशक्त खबरदारी नगरेसम्म प्रेस स्वतन्त्रता सुरक्षित नहुने धारणा राखे ।
उनका अनुसार प्रेस स्वतन्त्रता विश्वभर नै चुनौतीको घेरामा रहेको छ र यसको रक्षा गर्न वर्तमान पुस्ताले निरन्तर सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको छ । पूर्वजहरूको बलिदानबाट प्राप्त यो अधिकारलाई व्यवहारमा कार्यान्वयन नगरेसम्म संविधानमा मात्र सीमित राख्नु पर्याप्त नहुने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घले अघि सारेका मागप्रति समर्थन जनाउँदै अध्यक्ष मिश्रले विज्ञापन नियन्त्रण वा सेवा–सुविधा कटौतीमार्फत सञ्चारमाध्यमलाई दबाब दिने प्रयासप्रति बार सचेत रहेको बताए । उनले प्रेसमाथि अप्रत्यक्ष हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले संसद्मार्फत कानुनी प्रक्रिया अगाडि बढाउन सकिने अवस्था हुँदाहुँदै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु उचित नभएको बताए । जनताको असन्तुष्टि दलको अस्तित्वप्रति नभई कार्यशैलीप्रति केन्द्रित रहेको उल्लेख गर्दै उनले त्यसलाई आधार बनाएर एकतन्त्रीय सोच अघि बढाउनु खतरनाक हुन सक्ने चेतावनी दिए ।
साथै, सुकुमबासी समस्यासँग सम्बन्धित पछिल्ला घटनाप्रति संकेत गर्दै उनले मानवीय संवेदनशीलतालाई बेवास्ता गर्दै गरिएको विस्थापन संविधानले सुनिश्चित गरेको आवासको हकविपरीत हुने धारणा व्यक्त गरे । उनले राष्ट्रिय मानवअधिकार आयोगलाई सम्बन्धित घटनाबारे निष्पक्ष प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे ।
अध्यक्ष मिश्रले मानव अधिकारको रक्षा र दोषी पहिचानका लागि नागरिक समाजले एकीकृत रूपमा भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए । प्रेस र कानुन व्यवसायीबीचको सहकार्यले मात्र लोकतान्त्रिक प्रणाली सुदृढ हुने उल्लेख गर्दै उनले पत्रकारहरूलाई आवश्यक कानुनी सहयोग दिन बार एसोसिएसन सधैं तयार रहेको प्रतिबद्धता जनाए ।




