देश

भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आउँदै, प्रधानमन्त्री शाहको भारत भ्रमण टुङ्ग्याउने तयारी

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री यसै साता नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि दक्षिणी छिमेकी भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेपछि सो पार्टीका वरिष्ठ नेता शाह एक महिना अघि नेपालको प्रधानमन्त्री नियुक्त हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए ।

त्यसपछि भारतले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ता दिएको भए पनि भ्रमणको मिति भने तय भएको छैन । विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिनुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति टुङ्गो लगाउने बताइएको छ ।

नेपाल–भारत उच्चस्तरीय भ्रमणका विषयमा नेपालका परराष्ट्रमन्त्रीसँग निरन्तर छलफल भइरहेको पनि उनले जानकारी दिएका छन् ।

हालै मोरिससमा आयोजित एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत छलफल भएको मन्त्री खनालले नेपाल फर्किएपछि बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *