देश

दीपक भट्ट प्रकरण र सेयर विवादमा गृहमन्त्रीबारे स्पष्टता माग्दै लिङदेनको सरकारलाई दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको सम्भावित साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन्।

भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङको नाममा सेयर रहेको कागजात सार्वजनिक भइरहेका बेला उनले सो विषयमा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सुशासनको नारा दिने सरकारले आफ्नै गृहमन्त्रीबारे उठेका प्रश्नहरूमा स्पष्टता दिनुपर्ने बताए। उनले गृहमन्त्री र पार्टी नेतृत्व दुवैले आफ्नो स्थिति स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

लिङदेनले सरकारको कार्यशैलीप्रति आलोचना गर्दै “स्टन्टको भरमा देश नचल्ने” टिप्पणीसमेत गरे। साथै, सडक छेउका अनधिकृत संरचना हटाउने अभियानका नाममा राज्य आतंक फैलाइएको आरोप पनि उनले लगाए।

उनले भने, “सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आइरहेको छ, त्यसबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ। गृहमन्त्री र पार्टी सभापतिले आफ्नो स्थिति स्पष्ट गर्नुपर्छ।”

अध्यक्ष लिङदेनले वर्तमान सरकारले देशको अभिभावकीय संस्थाको रूपमा राजसंस्थालाई स्थापित गरेर अघि बढ्नुपर्ने धारणा समेत व्यक्त गरे। साथै, निर्वाचनमा पार्टीलाई सहयोग नगर्ने नेता–कार्यकर्तामाथि कडा कारबाही गरिने चेतावनी पनि उनले दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *