काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले ‘डोजर आतंक’ मच्चाइरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बस्ती हटाउने क्रममा भएको बल प्रयोगका कारण मानवीय क्षति समेत भएको दाबी गरे। राज्य अभिभावकजस्तो हुनुपर्ने उल्लेख गर्दै उनले यसरी आतंक सिर्जना गर्नु उपयुक्त नहुने बताए।
आङ्देम्बेले डोजर प्रयोगका कारण विद्यालय प्रभावित हुँदा सयौँ विद्यार्थी भविष्यविहीन बनेको उल्लेख गर्दै सरकारलाई मानवीय संवेदनशीलता अपनाउन आग्रह गरे। सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उनले बल प्रयोगमार्फत गरिएको व्यवस्थापनले नागरिकमा त्रास पैदा गर्ने र त्यसले विद्रोह निम्त्याउन सक्ने चेतावनी दिए। मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफूहरूको असहमति नरहेको स्पष्ट पार्दै उनले विधि र प्रक्रियाभित्र रहेर काम गर्न सरकारलाई सुझाव दिए।
नेता आङ्देम्बेले सरकार संख्याको बलमा विधि मिच्दै अघि बढिरहेको आरोप लगाए। प्रतिपक्षको सदाशयतालाई कमजोरीका रूपमा नलिन चेतावनी दिँदै उनले संसदलाई बन्धक बनाएर अध्यादेशमार्फत शासन चलाउनु उचित नभएको बताए।
उनले नीति तथा कार्यक्रम, बजेट लगायत विषयमा संसदमा छलफल हुनुपर्नेमा जोड दिँदै ‘चोर बाटो’बाट मुलुक सञ्चालन गर्दा दिगो विकास र शान्ति सम्भव नहुने उल्लेख गरे।
त्यसैगरी, उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी भएको सन्दर्भमा सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताए। हाल सरकारमा रहेका व्यक्तिहरूको समेत अस्वाभाविक सम्पत्ति देखिएको उनको दाबी छ।




