काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार नेपाली कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन्।२०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले आफूलाई जिम्मेवारी दिएकोमा पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। उनले निवर्तमान सभापति शेरबहादुर देउवा, तत्कालीन केन्द्रीय कार्यसमिति, पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्य, जिल्ला सभापति तथा देशभरका तरुण दलका कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरेका छन्।
राजीनामा पत्रमा गुरुङले पार्टीले तोकेको समयसीमाभित्र पाँचौँ महाधिवेशन सम्पन्न हुन नसकेको स्वीकार गरेका छन्। २०८३ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने लक्ष्य राखिए पनि पछिल्लो राजनीतिक परिस्थितिका कारण निर्धारित समयमा प्रक्रिया पूरा गर्न नसकिएको उनको भनाइ छ।
उनले बदलिँदो राजनीतिक परिवेशअनुसार तरुण दललाई समयसापेक्ष, प्रभावकारी र सशक्त ढंगले अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन्। संगठनलाई नयाँ ऊर्जा र दिशा दिन सहज वातावरण बनोस् भन्ने उद्देश्यले आफूले पदत्याग गरेको गुरुङले बताएका छन्।
गुरुङको राजीनामासँगै तरुण दलको आगामी नेतृत्व, महाधिवेशनको तयारी र संगठन पुनर्संरचनाबारे कांग्रेसभित्र नयाँ छलफल सुरु हुने देखिएको छ।





